बाँके चैत २५ गते ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुने बताएका छन् । मुस्लिम इत्तेहाद संगठनले आइतवार नेपालगन्जमा आयोजना गरेको रोजा इफ्तार कार्यक्रममा प्रदेश प्रमुख मियाँले धर्म विरोधी गतिविधिले समाजमा नकारात्मक असर पर्ने बताए ।
उनले धर्म र आस्था राख्न पाउने नेपालको संविधानले अधिकार दिएको उल्लेख गर्दै कसैले कसैलाई धार्मिक अतिवादी भन्न नहुने जिकिर गरे । ‘गलत प्रबृत्तीलाई धर्मसँग जोड्न नहुँदैन । धार्मिक अतिवादीको न त धर्म हुन्छ न जात नै हुन्छ,’ उनले भने, ‘अतिवादीहरु न हिन्दू हुन सक्छ न त मुस्लिम धर्मावलम्वी हुन सक्छ ।’
उनले एक अर्काको धर्म, संस्कृति, संस्कार र परम्पराको सम्मान गरेकाले नेपाल शान्त र विशाल भएको धारणा राखे । विभिन्न धर्ममा आस्था राखे पनि एकले अर्कालाई माया गर्नुनै बास्तविक धर्म भएको उनको भनाई छ । ‘मान्छेलाई भड्काउन यहाँ हिन्दू अतिवादी र मुस्लिम अतिवादी भन्छन् अतिवादी र आतंकवादीको कुनै धर्मनै हुँदैन,’ प्रदेश प्रमुख मियाँले भने ।
रोजा इफ्तार कार्यक्रममा बाँकेका विभिन्न स्थानबाट आएका करिव दुई हजार इस्लाम धर्मावलम्वीले सामुहिक इफ्तार गरेको मुस्लिम इत्तेहाद संगठनका नेता मोहम्मद हारुनले बताए । उनले धार्मिक गुरुले अजान गरेपछि इस्लाम धर्मावलम्वीले सामुहिक इफ्तार गरेको बताए ।