Logo

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाईँंदै

Samachar Rekhanews ८ जेष्ठ २०८०, सोमबार १७:२० मा प्रकाशित

८ वैशाख, नेपालगञ्ज । विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाईँंदैछ ।
‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन लागिएको हो ।
जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस विश्वभर मनाउने गरिएको छ ।
सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो ।
जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५–२०१ ले थप अंगीकार ग¥यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो ।
त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।
जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२३ नाराः “सम्झौताहरूको अनुमोदन देखि कदमहरू सम्म भन्ने छ । देशहरूले जैविक विविधता प्रतिका अनेक सम्झौताहरू र सम्धीहरू अनुमोदन गरे पनि कदमहरूमा खासै परिवर्तन नदेखिएका कारण यस वर्षवाट राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधताप्रति थप जुझारु हुन आग्रह गरिएको हो ।“
कानुनतः नेपालमा भनेँ जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
यहाँ छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर–दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ ।
नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकत मउचाई ८,८४८ मिटरको सगरमाथा छ ।
नेपालमा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् ।
सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।
परापूर्वकालदेखि नै नेपाली परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ ।
विशेष गरि हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ ।
जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संगठनका तर्फबाट हाइकिङ, ¥याली, गोष्ठी, अन्तरक्रियालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?