ईद–उल–फित्र ‘ईद’ आज देशभर हर्षाेल्लासका साथ मनाइ“दै
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र ‘ईद’ आज देशभर हर्षाेल्लासका साथ मनाइँदैछ ।
रमजानको एक महिना सम्म चल्ने रोजा (व्रत) सम्पन्न भएको खुशियालीमा ईद पर्व मनाउने गरिन्छ ।
रमजान महिनामा इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।
ईद पर्वमा इस्लाम धर्मावलम्बीहरुले ईदगाहमा गएर सामूहिक रुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन् । यस अबसरमा इस्लाम धर्मावलम्बीहरुले फित्तरा, जकातका साथै सदका र हदिया पनि निकाल्ने गर्छन् ।
फितरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदरसा (पाठशाला) मा वितरण प्रदान गरिन्छ ।
रोजा, नमाज, जकात, हज र फित्तरा यी पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन् ।
रोजा पर्व एक कठिन व्रत हो ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि बिरामी, गर्भवती महिला र अशक्त मानिसलाई अनिवार्य गरिएको छैन ।
ईदको नमाज सम्पन्न भएपछि अंकमाल गरेर एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ । ईदको अवसरमा एकाबिहानै नयाँ लुगा लगाएर नमाज (प्रार्थना) गरेपछि जकात (आफ्नो वार्षिक आम्दानीबाट छुट्याइएको दशांस रकम) बाट दीन–दुःखीलाई लुगा, खानेकुरा दिएर घर–घरमा शुभकामना आदानप्रदान गर्दै विभिन्न परिकार खाने, खुवाउने गरिन्छ ।
ईदको नमाज वीपी चोकस्थित ईदगाहमा बिहान ८ बजे प्रारम्भ हुने गौसिया जानु मस्जिदका धर्मगुरु मौलाना जमाल कादरीले बताएका छन् ।
ईदगाहमा कसैको नमाज छुट्न गएमा जामा मस्जिदमा ९ बजे पढ्न सकिने हाजी फारुक कादरीले बताएका छन् ।
ईद-उल-फित्र (ईद) को उपलक्ष्यमा नेपाल सरकारद्वारा आज नेपालभर बैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको छ ।