बाँके बैशाख २६ गते ।
नेपालगन्ज उपमहानगरपालिका उपमेयरका उम्मेदवार कमरुद्धिन राईले नेपालगन्जमा बसोबास गर्ने महिलाहरुको पनि साथ पाएको बताएका छन् । आफूले महिला, पुरुषलाई समान ब्यवहार गरेकोले महिला मतदाताले पनि रुचाएको उनले जिकिर गरे ।
उनले विशेष परिस्थितीका कारण महिला उम्मेदवार उठाउन नसकेको स्पष्ट पार्दै महिला अधिकार र महिला उत्थानका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । ‘म पुरुष हुँ, तर महिला उत्थानका लागि मैले कुनै कसुर बाँकी राख्ने छैन । महिला विरुद्धका कुनै काम मबाट हुने छैन,’ उनले भने ।
जनता समाजबादीको तर्फबाट उपमेयरका उम्मेदवार राईले कुनै जातजाती, धर्म र सम्प्रदायको लागि नभई सिंगो नेपालगन्जलाई समृद्ध बनाउन योजना ल्याउने बताए ।
उनले उपमेयर चयनका लागि कुनै एउटा दलबाट उम्मेदवारी दिएको बताउँदै उपमेयरमा विजयी भए राजनीतिक आस्थाको आधारमा नभई आवश्यकता र औचित्यको आधारमा काम तथा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘मैले लामो दूरीको यात्रा तय गरेको छु, तपाईहरुले जिताउनु भयो भने तपाईहरुको चित्त बुझ्ने गरि काम गर्ने छु, सेवामा तल्लिन हुने छु,’ उनले भने ।
पछिल्लो समय उनको पक्षमा जनलहर देखिएको छ । उनले अघिल्लो निर्वाचनभन्दा यस पटक माहोल राम्रो भएको बताए । ‘म दुखको भुंग्रोबाट निस्केको ब्यक्ति हुँ । दुख, पीडा कस्तो हुन्छ अनुभव गरेको छु । त्यसैले म दुखी, गरिवको सेवामा तल्लिन हुने छु,’ राईले भने ।
उनले अघिल्लो निर्वाचनभन्दा यस पटक आफ्नो पक्षमा धेरै मतदाता बढेको दावी गरे । अघिल्लो निर्वाचनमा संघीय समाजबादी फोरमको मत मात्र थियो । अहिले नयाँ शक्ति पार्टीको मत पनि थपिएको छ । त्यसैमा अहिले हाम्रो पक्षका नयाँ मतदाता पनि थपिएका छन्,’ उनले भने, ‘मलाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादी केन्द्रको मत पनि थपिने छ ।’