Logo

कांग्रेस नेपालगन्ज वडा नम्बर ४ को प्रतिवद्धता : वडाबाट प्राप्त हुने कुनै सेवा सुविधा नलिने, टोलहरुमा फ्रि-वाईफाई जडान

Samachar Rekhanews २० बैशाख २०७९, मंगलवार २३:५२ मा प्रकाशित

नेपालगन्ज, बैशाख २० : नेपाली कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का उम्मेदवारले महत्वपुर्ण प्रतिवद्धता आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन् । उक्त वडामा कांगे्रेसका तर्फबाट वडाअध्यक्षमा प्रदिप शाह (तेली), खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह (महतरा) र दलित महिला सदस्यमा सुशिला कोरी उम्मेदवार हुनुहुन्छ ।
कांग्रेस नेपालगन्ज वडा नम्बर ४ चुनाव प्रचार प्रसार समितिले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचित भएपछि वडाबाट प्राप्त हुने कुनै प्रकारको सेवा सुविधा नलिने, विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, वडाभित्र रहेको सम्पूर्ण सडकहरुको कालोपत्रे गरिने उल्लेख गरिएको छ ।
यस्तै शैक्षिक बेरोजगारीलाई न्यूनिकरण गर्नका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन पहल गर्ने, वडा नम्बर ४ को अक्षयकोष स्थापना गरिने र गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, वडाका टोलहरुमा फ्रि वाईफाई र वडामा हुने सम्पूर्ण गतिविधीको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने प्रतिवद्धता पत्रमा समेटिएको छ ।
उक्त वडामा यसपटक नेपाली कांग्रेसले सर्वसम्मत रुपमा आफ्नो उम्मेदवार टुंगो लगाएको थियो । २०७४ सालको निर्वाचनमा पार्टीभित्रैबाट स्वतन्त्र उम्मेदवार हुँदा ब्यहोर्नु परेको हारको पीडाबाट मुक्त हुन यसपटक सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाइएको हो । वडाअध्यक्षका उम्मेदवार शाह (तेली) ले यसपटक वडामा कांग्रेस एक ढिक्का भएर चुनावी प्रचारमा लागेका कारण जित्ने निश्चित रहेको ठोकुवा गर्नुभयो ।
उक्त वडामा १० वटा टोल रहेका छन् । वडाका टोल टोलमा पुगेर मतदाता भेट्ने काम भइरहेको महिला सदस्यका उम्मेदवार अस्मिताले जानकारी दिनुभयो । वडाभित्र हाल ५ हजार ३ सय ६७ मतदाता रहेको बताइएको छ । त्यसमध्ये आधा बढी मतदाताले कांग्रेसलाई मतदान गर्ने भएकाले जित निश्चित रहेको शाहले बताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?