Logo

कोहलपुरमा नेकपा एमालेको भान्साघरमा पाँच हजार विरामी र कुरुवाले खाना खाए

Samachar Rekhanews २१ जेष्ठ २०७८, शुक्रबार २३:५४ मा प्रकाशित

बाँके जेठ २१ गते ।
नेकपा एमाले बाँकेले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण असपताल कोहलपुरका कोभिड विरामी र कुरुवाका लागि संचालन गरेको भान्साघरमा अहिलेसम्म करिव पाँच हजार पाँच सयले खाना खाएका छन् । विभिन्न संघसंस्थाको सहयोगमा एमाले बाँकेले २२ दिन अघि भान्साघर संचालनमा ल्याएको थियो ।

कोभिड विरामी र कुरुवालाई लक्षित गरेर ल्याइएको भान्साघरमा ३० रुपैयाँमा एक छाक खाना खाने व्यवस्था मिलाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा अप्ठ्यारो झेल्दै आएका विरामी र कुरुवाहरुले राहत महसुस गरेका छन् । सल्यान मार्केका गुरुवा चौधरीले अस्पतालमा सुरु गरिएको भान्साघरको खाना राम्रो र सस्तो रहेको बताउनुभयो ।

उहाँजस्तै अहिलेसम्म पाँच हजार बढीले खाना खाइसकेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक तीस हजार रुपैयाँ खाना खर्च आउने गरेको छ । विहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म भान्सा घर चल्ने गरेको छ।

नेकपा बाँकेले कोभिडका विरामी र कुरुपालाई लक्षित गरेर संचालन गरेको यो भान्सा घर दुई महिना चल्ने जनाएको छ । पार्टी अध्यक्ष कोइरालाले जेठदेखि सुरु भएको यो अभियान अषार मसान्तसम्म चल्ने बताउनुभयो ।

त्यसपछि खर्चको अवस्था हेरेर दाताहरुसँगको परामर्शमा निरन्तरता दिने वा नदिने भन्नेबारे निर्णय लिइने पनि उहाँको भनाइ छ । दाल, भात, माछा, मासु र अण्डासहितको खाना गुणस्तरीय र पौष्टिकतत्पपूर्ण रहेको पनि उहाँले बताउनुभयो ।

नेकपा एमाले युवा संघका नेता दिपक जिएमले कोभिड व्यवस्थापन र सचेतिकरणका लागि युवा संघले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले कोभिड व्यवस्थापनका सवालमा युवा संघले राजधानीदेखि मोफसलसम्म १० हजार युवाहरु परिचालन गरिएको बताउनुभयो । जुन क्षेत्रमा बढी समस्या छ त्यही क्षेत्रमा प्राथमिकता दिएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

माधव नेपाल र झलनाथ खनालको तस्विर अंकित व्यानरमा संचालनमा रहेको भान्साघरमा गुटगत राजनीति नभएको दावी अध्यक्ष कोइरालाको छ । उहाँले यो भान्सा घर सिंगो एमालेको भएको पनि जिकीर गर्नुभयो ।

यस्तै नेपाल–खनाल पक्षका नेता अब्दुल खाँले भान्साघरमा कुनै गुटगत राजनीति नभएको बताउँदै स्वयमसेवक बनेर मानवीय सहयोग पुर्याइरहेको पनि उहाँको भनाइ छ । उहाँले कोभिड महामारीमा कुरुवा र विरामीलाई राहत पुग्नेगरी काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।

यो सबै खर्चको व्यवस्थापन पार्टी निकट रहेका र पार्टीलाई सहयोग गर्दै आएका व्यापारी तथा शुभेच्छुकबाट सम्भव भएको उहाँको भनाइ छ । केएल दुगडले चामल सहयोग गरेको छ भने अन्य व्यापारीले खाने तेल, ग्यासलगायतको सहयोग गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?