नेपालगञ्ज, भदौ १४
बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिकामा मानव बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।
दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
सो कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले यस्ता क्षमता विकास कार्यक्रमहरुले स्थानीय मानवबेचविखन विरुद्ध गठन गरिएको समिति र बाल अधिकार समितिका पदाधिकारी र सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने बताउनुभयो ।
उहाँले सो कार्यमा नगरपालिकाले हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानवबेचविखन रोकथामका लागि समाजमा जनचेतना फैलाएर सबै वर्गको सहयोग लिईए मात्र रोकथाम गर्न सकिने बताउनुभयो ।
सो कार्यक्रममा कोहलपुर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख आनन्द कुमार पौडेल, महिला तथा बालबालिका शाखाका प्रमुख रिना थापा, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक होम प्रकाश चौधरी लगायतले मानवबेचविखन रोक्न सबैले मिलेर एक संयुक्त कार्ययोजना बनाई सोही बमोजिम काम गर्नु पर्नेमा जोड दिएका थिए ।
दुई दिनसम्म चलेको सो कार्यक्रममा सहभागि हुनुभएका बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुले यो कार्यक्रमबाट आफुहरुले धेरै कुरा सिकेको र क्षमता विकास भएको प्रतिक्रिया दिुन भएको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।