Logo

गुलरियाको चौतर्फी विकास र समृद्धिका लागि मेयरमा विजयी गराउन श्रीवास्तवको आग्रह

Samachar Rekhanews १० बैशाख २०७९, शनिबार १४:५३ मा प्रकाशित

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत गुलरिया नगरपालिकाको मेयर पदका उम्मेदवार सुजितराज श्रीवास्तवले आफू मेयर पदमा विजयी भए गुलरिया नगरपालिकाको आर्थिक, शिक्षा, रोजगारी, कृषि लगायतको क्षेत्रमा आमूल परिवर्तन गर्ने बताएका छन् ।
समाचार रेखा राष्ट्रिय दैनिकका बर्दिया प्रतिनिधि जावेद गद्दीसँग गरेको कुराकानीका क्रममा श्रीवास्तवले यस्तो कुरा बताएका हुन्

गुलरिया नगरपालिका वडा नं. ८ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गुलरिया नपाको मेयर पदका उम्मेदवार श्रीवास्तवले अगाडि भने, ‘गुलरिया नगरपालिका अति नै सानो र पिछडिएको नगरपालिका हो ।

गुलरिया नगरपालिकाको जुन किसिमले विकास हुनुपर्ने हो त्यस किसिमले विकास हुन सकेको छैन । यहाँका नागरिकको आर्थिक अवस्था निकै कमजोर छ । उनीहरुको आर्थिक अवस्था माथि उकास्न विभिन्न सीपमूलक रोजगारको व्यवस्था गर्ने, शिक्षाको स्तर माथि उकास्न प्राथमिक तहदेखिनै बालबालिकाहरुलाई कम्प्यूटर शिक्षाको व्यवस्था गर्ने र आफ्नै गाउँठाउँमा रोजगारीको अवसर सिर्जना गरि प्रत्येक नागरिकको जीवत स्तरमाथि उकास्ने मेरो प्राथमिकता हुनेछ ।’

यस नगरपालिकामा विभिन्न समुदायका मानिसहरुको बसोबास रहेका कारण विद्यार्थीहरुले बोल्ने मातृभाषा बुझ्ने र बुझाउने ज्ञान भएको मानिसलाई शिक्षकमा नियुक्त गर्ने उनले बताए ।

प्रत्येक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था नरहेकाले गुलरिया नगरपालिकामा रहेका सबै विद्यालयहरुमा स्वच्छ खानेपानीको व्यवस्था मिलाउने उनले बताए ।
प्रत्येक विद्यालयका विद्यार्थीहरुलाई कपि, कलम, विद्यालयको युनिफर्म र छात्राहरुको लागि छुट्टै ट्वाइलेटको व्यवस्था गर्ने उनले बताए ।

कुराकानीको क्रममा गुलरिया नगरपालिकामा रहेका प्रत्येक विद्यालयका विद्यार्थीहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने र प्रत्येक छात्राहरुलाई थप वार्षिक ३ हजारका दरले उनीहरुको खातामा रकम जम्मा गर्दै जाने र १० कक्षा पास गरिसकेपछि उच्च शिक्षाको लागि सो रकम उनीहरुलाई हस्तान्तरण गर्ने बताए ।

अरु मानिसहरु राजनीतिलाई कमाइ खाने भाडो बनाएर काम गर्छन् र भ्रष्टाचार गरि मालामाल बन्छन् तर आफू पैसा कमाउन नभएर जनताको सेवा गर्ने उद्देश्यले राजनीतिक क्षेत्र अंगालेको बताए । म १०÷१५ वर्ष संयुक्त राज्य अमेरिकामा अध्ययन र रोजगारी गरि फर्केको मानिस हुँ ।

मेरो बुवा राजेन्द्र प्रसाद श्रीवास्तव पनि गुलरिया बर्दिया क्षेत्रमा सक्रिय राजनीतिमा लागेर जनताको सेवा गर्नुभयो । मेरो बुवाले गुलरिया नगरपालिकालाई आधुनिक बनाउने जुन कल्पना गर्नु भएको थियो त्यो कल्पनालाई साकार पार्न मैले राजनीति अंगालेको बताए ।

अरु नेताले चुनाव जित्न ठूल्ठूला वाचाहरु गर्ने र सत्तामा पुगिसकेपछि बिर्सने गरेका छन् तर म त्यस्तो मानिस होइन । अहिले चुनावको बेला जुन प्रतिबद्धताहरु मैले जनतासमक्ष गरेको छु ती प्रतिबद्धताहरु मैले पूरा गर्न नसकेको खण्डमा राजनीतिबाट स्वतः अवकाश लिने उनले बताए ।

जोसँग धन सम्पत्ति हुँदैन उसैले भ्रष्टाचार गर्छ मलाई धन सम्पत्तिको खाँचो नभएकाले म राजनीतिमा सेवा गर्नका लागि आएको हुँ जनताले मलाई मेयर पदमा विजयी गराए गुलरिया नगरपालिकाको चौतर्फी विकास गरि समृद्ध गुलरिया बनाउने उनले वाचा गरेका छन् ।

अहिलेसम्म जति पनि जनप्रतिनिधिहरु आए उनीहरुले जनताको इच्छा आकाँक्षा बमोजिम काम गर्न सकेनन् जसका कारण जनतामा निराशाको भावना छ । निराश जनताको मुहारमा खुशी लहर ल्याउन मैले हरसम्भव प्रयास गर्ने र त्यसका लागि जनताले मलाई मेयर पदमा विजयी बनाउन आग्रह गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?