Logo

नरैनापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल बिओपी’को उद्घाटन

Samachar Rekhanews २२ चैत्र २०७९, बुधबार २३:३५ मा प्रकाशित

२२ चैत्र, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ ।
बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने जिकिर गरे । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बाहिनीपतिको भनाई थियो । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताउदै बाहिनीपति खड्काले भने, ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नु हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का वेला उद्धार, संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर ड्युटीले गर्दा चोरी तस्करी कम भएको बताउँदै भने ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुन्ने गरिन्थ्यो, अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर, राष्ट्रिय अनुसन्धानका उप निर्देशक मोहन कुवर, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सशस्त्रका डिएसपी दिपक चन्द, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?