Logo

नवनियुक्त मन्त्री मोहम्मद इस्तियाक राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Samachar Rekhanews २० असार २०७९, सोमबार २२:२४ मा प्रकाशित

२० असार, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राईसँगै नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादवले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनै जना मन्त्रीले सोमवार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सोमबार नै तीनलाई मन्त्री पदमा नियुक्ति गरेकी हुन् ।
यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सोमबार नै राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?