
रबिना बस्नेत समाचारदाता
कुशलतापूर्वक प्रिन्सिपलको जिम्मेवारी निर्वाह गर्दै आंचल
निकै कम उमेरमा विद्यालय हाँकी रहेकी व्यक्तित्वको नाम हो आँचल गुप्ता ‘वैश्य’ ।
नेपालगञ्ज उमनपा परसपुर रोड भृकुटीनगर वडा नं. १० मा ८ कक्षासम्म सञ्चालनमा रहेको श्री काबेरी विद्या निकेतनमा कुशलतापूर्वक प्रिन्सिपलको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन् ।
काबेरी विद्या निकेतनमा कक्षा नर्सरीदेखि अध्ययन गरेकी आँचल अहिले यसै विद्यालयमा प्रिन्सिपलको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । वि.सं. २०५९ सालमा स्थापित भएको सो विद्यालयमा आँचल २०७५ सालदेखि प्रिन्सिपलको रुपमा कार्य गर्दै युवा पुस्ताका लागि प्रेरणाकी स्रोत बनेकी छिन् ।
समाचार रेखा राष्ट्रिय दैनिकका सहसम्पादक बनि अमिन सल्मानीले प्रिन्सिपल आँचल गुप्ता ‘वैश्य’ तथा श्री काबेरी विद्या निकेतनका बारेमा कुराकानी गर्दा प्रिन्सिपल आँचलले भनिन्, हाल हाम्रो विद्यालय नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेको छ । अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालयमा विद्यार्थीसँग कम शुल्क लिने गरिएको छ ।’
नयाँ भर्नाको समयमा विद्यार्थीसँग फाराम शुल्क रु. १०० मात्र लिने गरिएको छ भने मासिक शुल्क पनि अन्य विद्यालय भन्दा कम रहेको छ । धनी मात्र होइन गरिब वर्गका विद्यार्थीले पनि समान शिक्षा हासिल गरुन् भन्ने उद्दश्यले अन्य विद्यालयभन्दा कम शुल्क लिने गरेको बताइन् ।
विद्यालयमा कति विद्यार्थी छन् भनि प्रश्न गर्दा उनले वैश्विक महामारी कोरोनाको संक्रमण फैलिनु भन्दा पहिला विद्यालयमा करिब ४०० जना विद्यार्थी थिए भने अहिले २०० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा विद्यार्थीको संख्या बढाउन आफूले दिनरात मिहिनेत गरिरहेको र चाँडै लक्ष्यसम्म पुग्ने बताइन् ।
कुराकानीका क्रममा उनले तमाम विद्यार्थी आफ्नो मौलिक संस्कृतिको अध्ययन गर्न सम्बन्धित विद्यालयमा जाने गरेका कारण त्यस्ता विद्यार्थीहरुलाई आफ्नो विद्यालयतर्फ आकर्षित गर्न आगामी शैक्षिक सत्रदेखि उनीहरुको धर्म संस्कृतिसँग सम्बन्धित विषयको अतिरिक्त कक्षा पनि विद्यालयमा सञ्चालन गरिने बताइन् ।
विद्यालयलाई वर्तमान अवस्थाभन्दा अझ उत्कृष्ट बनाउन के योजना छ भनि प्रश्न गर्दा उनले भनिन, हाल कक्षा ८ सम्म सञ्चालन रहेको यस विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० सम्म सञ्चालन गर्ने योजनामा रहेका छौं ।
त्यसका लागि हामीसँग पर्याप्त भौतिक पूर्वाधार रहेको
छ । शिक्षा आर्जन गर्नका लागि कुनै पनि विद्यार्थीलाई आफ्नो घरभन्दा टाढा जान नपरोस् यसका लागि हामीले यस विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म सञ्चालन गर्ने योजना बनाएका छौं ।
विद्या आर्जन नगरे मानिसको मनमस्तिष्क अन्धकारमय हुने भएकाले हरेक नागरिकको मनमस्तिष्कमा शिक्षाको प्रकाश छर्न आफ्नो विद्यालय तत्पर रहेको र अभिभावकले पनि यस कुरालाई मनन गरेर आफ्नो नानीबाबुहरुलाई समान शिक्षा दिनुपर्ने उनले बताइन् ।