Logo

निषेधाज्ञा उल्लंघन गर्ने १२ जना नेपालगन्ज का व्यापारी प्रहरीको फन्दामा

Samachar Rekhanews १७ जेष्ठ २०७८, सोमबार २३:२२ मा प्रकाशित

बाँके जेठ १७ गते ।
बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा विपरीत पसल व्यवसाय गर्नेलाई प्रहरीले नगरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाको जानकारी अनुसार स्थानीय प्रशासनले जारी गरेको समयसीमा उल्लंघन गरी बजार व्यवसाय चलाएको पाइएपछि उनीहरु कारवाहीमा परेका हुन् । निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारीलाई पाँच घण्टा प्रहरीको हिरासतमा राखिएको थियो ।

उनीहरुलाई पहिलो पटक सम्झाएर छाडिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले बताउनुभयो । सुन व्यापारीदेखि कपडा भाडावर्तन पसलेलाई प्रहरीले पक्राउ गरेर सम्झाइ बुझाई छाडिएको खड्काले बताउनुभयो ।

उनीहरुलाई अर्को पटक गल्ती नगर्ने सर्तमा कागज गराएर छाडिएको पनि उहाँको भनाइ छ ।

बाँकेमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले विगत एक महिनादेखि निषेधाज्ञा लगाउँदै आएको छ । पछिल्लो पटक आज पुनः एक साताका लागि निषेधाज्ञा थप भएको छ । भाइरस संक्रमणको चेन ब्रेक गर्न जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्री किनमेलका लागि स्थानीय प्रशासनले विहान ७ बजेदेखि १२ बजेसम्म खाद्यान्न, तरकारी तथा दुग्धजन्य पसल व्यवसाय खुल्ला गरेपनि अन्य समयमा भने बन्द गरेको छ ।

तर केही व्यापारीहरुले प्रहरीको आँखा छलेर व्यवसाय गर्दै आएका छन् । निषेधाज्ञालाई पूर्णरुपमा कार्यान्वयन गराउन पसलेहरुलाई पक्राउ गरिएको हो । प्रहरीले भोलिदेखि निषेधाज्ञा थप कडाइ हुने पनि जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?