
नेपालगन्ज, साउन ३१ । प्लान नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, साथी संस्था र स्याक नेपालको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा समन्वय बैठक सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत आर्थिक वर्ष २०७८÷०७९ मा योजना गरीएका कार्यहरुको जानकारी स्थानीयतहलगायत सरोकावालालाई गराउने उदेश्यले सो समन्वय बैठकको आयोजना गरिएको हो ।
बैठकमा स्थानीय स्तरमा मानवबेचबिखनको रोकथाम र यसबाट पीडितहरुको उद्धार, पुनस्र्थापना र पुनर्मिलन प्रक्रियामा स्थानीय सरकार, समुदायस्तरका संयन्त्रहरु र अन्य सरोकारवालाहरुको प्रभावकारी संलग्नतामा अभिबृद्धि गर्ने उदेश्यले सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उपमेयर उमा थापा मगरले उपमहानगरपालिका सदैब बालबालिकाको हक, हित र संरक्षणको लागी सम्बेदनशील र प्रयत्नशील रहेको जानकारी गराउँदै बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट खास गरी बालबालिकाहरुको बेचबिखन बिरुद्धको अभियान लगायत बालअधिकार प्रबर्धनमा अधिकतम् रुपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले समन्वय र सहकार्य गरेर काम गरेमा सफल हुने र कार्यक्रम नदोहोरिने बताउनुभयो ।
बैठकमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्का, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख गोरख बहादुर थापा, कार्यपालिकाका सदस्यहरु,वडा अध्यक्षहरु लगायतबिभिन्न संघ, संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजनाका कार्यक्रम अधिकृत महेश नेपालीले आगामी कार्यक्रमको प्रस्तुतीकरण गर्नुका साथै कार्यक्रममा आएका जिज्ञासाहरुको जवाफदिनु भएको थियो ।
त्यसैगरी साथी संस्था र स्याक नेपालले पनि यस आर्थिक वर्षमा गरीने कार्यहरुको बारेमा बैठकमा प्रस्तुती गरेका थिए ।