समीर अली बेहना,
बाँके, १० भदौ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा अहले सुन्नत वल जमातका महान सूफी हजरत मौलाना वा मुफ्ती मुस्तफा रजा खान बरैल्वी रहमतुल्लाह अलैहको उर्स (याद) मनाइएको छ । बिहीवार मदिना नूरी मस्जिद द्वारा आयोजना गरिएको उर्समा उपमहानगरपालिकाका विभिन्न वल्माहरुको उपस्थितिमा उर्स मनाइएको थियो ।
मुस्तफा रजा खान नाम भएपनी उहाँलाई विश्व जगतले मुफ्तिए आजम-ए हिन्दको नामले चिनेको छ । मुफ्तिए आजम-ए हिन्दले मानवता, भाइचारा, शान्ति र भेदभावरहित समाजको लागि गरेको योगदानलाई स्मरण गर्दै उर्स मनाइएको मौलाना नशीरुद्दीन अन्सारीले बताए ।
अन्सारीको अनुसार उर्समा मुफ्ती सलीम नूरीले दरगाहे आला हजरतका प्रतिनिधित्व गर्दै जूम मिटिङबाट आफनो मन्तव्य राखेका थिए । सलीम नूरीले नेपाली कानूनलाई ध्यानमा राखी शान्तिपुर्ण समाज बनाउन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, मुफ्तिए आजम-ए हिन्दले दिएको संदेशलाई आमनागरिक बीच प्रस्तुत गरि समाजलाई मानवता तिर केन्द्रित गराउनु वर्तमानको ठुलो अवश्यकता हो ।
नेपालमा रहेको अहले सुन्नत वल जमातका अनुयायीहरुलाई गरीब, पीडित र विपन्न वर्गलाई सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो । पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको एउटा संदेशलाई उद्धरण बनाई भन्नू भयो, `जसको छिमेकी भोकै सुत्छ उसले खाएको खाना हराम हुन्छ ।´ त्यसैले आफ्नो छिमेकी र आफ्नो समाजमा सहयोग गरेर आफ्नो देशको विकासको लागि योगदान गर्नु सम्पुर्ण मानव जातिको कर्तव्य हो ।
त्यस्तै नेपाल वल्मा काउन्सिल लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मुफ्ती कैफुलवरा मिस्बाहीले उर्सको अवसरमा सम्पुर्ण नेपाली नागरिकहरुलाई शुभकामना व्यक्त गर्दै असल अनुयायी बन्न आग्रह गर्नु भयो ।
उहाँले भन्नूभयो, नेपाल र भारत छिमेकी राष्ट्र रहेकोले वर्षौं देखी आत्मीय सम्बन्ध रहि आएको छ । दरगाहे आला हजरतबाट सञ्चालित दारुल उलूम मञ्जरे ईस्लाममा वर्षौं देखी नेपाली विद्यार्थीहरुले पाठपाठन गरि समाज र मुलुकलाई सभ्य र शान्तिमय बनाउन ठुलो भुमिका निर्वाह गर्दै आएका छन् ।
त्यस्तै मुफ्तिए आजम-ए हिन्दले समेत नेपालको विभिन्न जिल्लाहरुमा भ्रमण गरि शान्ति र मानवताको संदेश दिनु भएको छ । जसको उद्धहरण नेपालगञ्जको मदिना नूरी मस्जिदलाई देख्न सकिन्छ । मुफ्तिए आजम-ए हिन्दले सन् १९८० मा मदिना नूरी मस्जिदको शिलान्यास गर्नु भएको थियो ।
जसबाट हजारौं युवाहरूलाई शिक्षा प्रदान गरि आर्थिक, सामाजिक र धार्मिक लगायतको विषयमा पाठपाठन गराइएको छ । सोही संदेशलाई जीवनमा लागू गरि आफ्नो समाज र मुलुकलाई विकासको पथ तिर लैजानु अहिलेको ठुलो अवश्यकता रहेको कैफिलवराको भनाई थियो ।
सोही दिन नेपालको तौलेहवा र कपिलवस्तु लगायत अन्य ठाउँमा समेत उर्स मनाइएको मिस्बाहीले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल वल्मा काउन्सिलका अन्य मौलाना र विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने स्थानीय वल्माहरुले समेत उपस्थिति जनाएका थिए ।