
नेपालगञ्ज उमनपा–१६ चौलिक्का चोकस्थित जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले १५० ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा हिँडि रहेको अवस्थामा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुर बस्ने वर्ष २४ को प्रविन बि.सी.लाई फेला पारी चेक जाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको दाहिले खल्तिमा लुकाई छिपाई राखिएको अवस्थामा ३ वटा सेतो प्लाष्टिकमा पोका पारी राखिएको १५० ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र निजको साथबाट नगद भारतीय रुपैया ३ हजार पनि बरामद भएको छ ।
बि.सी.लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपानेले जानकारी गराएका छन् ।
पक्राउ परेका बिसीलाई लागू औषध नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उप दफा १ को छ (३) बमोजिम १५ वर्ष देखि जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सक्ने बताइएको छ ।
बिसीले विगत १ वर्ष देखि लागु औषध सेवन तथा कारोवार गर्ने गरेको, उनले नेपालको छिमेकी मुलुक भारतको रुपैडिया गई भारतिय व्यक्तिसंग नगद रु ४ लाखमा खरिद गरी लिएर आएको खुल्न आएको छ ।
साथै उनले सडक मार्ग प्रयोग गरी ब्राउन सुगर काठमाण्डौ लैजाने उद्देश्यले लिएर आएको पनि बताइएको छ ।
पक्राउ परेका बिसीसंग सोधपुछ गर्दा यसमा अन्य व्यक्तिको संलग्नता रहेको पाईएकोमा थप अन्य जिल्लासंग पनि समन्वय गरी खोजतलास जारी रहेको बाँके प्रहरीले जनाएको छ