नेपालगञ्ज, भदौ ११ ।
बाँके युनेस्को क्लबले बढैयाताल गाउँपालिकामा बर्दियाका दुई पालिकाका शिक्षकहरुका लागि चारदिने वैकल्पिक कक्षा शिक्षक तालिम सञ्चालन गरिरहेको छ ।
क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बासगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका शिक्षकहरुका लागि मैनापोखरमा सो तालिमको आयोजना गरिएको छ ।
विद्यालयमा पढिरहेका सिकाइमा पछाडी परेका बालबालिकाको लागि वैकल्पीक कक्षा शिक्षाको माध्यमवाट उमेर अनुसारका बालवालीकाको सुधारात्मक, उपचारात्मक कक्षा संचालन गर्नका लागि चारदिने वैकल्पिक कक्षा शिक्षक तालिम सञ्चालन भैरहेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले उक्त तालिममा बैकल्पिक शिक्षाको आवश्यक्ता र महत्वका साथै शिक्षण प्रकृया, विद्यालय वाहिर रहेका बालवालबालीकाको सिकाईका लागि मार्गदर्शन र भुमिका, बाल अधिकार र संरक्षण तथा शिक्षकको भुमिकाका बारेमा प्रशिक्षण दिने कार्य भैरहेको बताउनुभयो ।
तालिममा शिक्षाको महत्व र आवश्यक्ता तथा शिक्षण विधि, उपचारात्मक तथा सुधारात्मक कक्षा शिक्षण (अंग्रेजी, गणीत र विज्ञान) विषयको प्रकृया र उपचारात्मक कक्षाको व्यवस्थापकिय पक्ष तथा कोभिडको सन्दर्भमा वैकल्पिक कक्षा शिक्षण लगायतको विषय वस्तु समेटिएको कुरा परियोजना संयोजक वसन्त कुमार विसीले वताउनु भयो ।
उक्त तालिममा बाँसगढीका १३ माध्यमिक विद्यालय र बढैयाताल गाउपालिकाका ११ माध्यमिक विद्यालयका शिक्षकहरुको सभागिता रहेको छ ।
वैकल्पिक कक्षा शिक्षण पश्चात चारवटै पालिकासंग समन्वय तथा सहकार्य गरि विद्यालय बाहिर रहेका बालबालिका, न्यून सिकाइ उपलब्धि भएका बालबालिका, अपाङ्गता भएका बालबालिका तथा कोभिडको कारण विद्यालय जान नपाइ रहेका बालबालिकालाइ वैकल्पिक माध्यमद्वारा शिक्षण गरिने क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।
सो चारदिने तालिमको सहजीकरण प्रशिक्षक यादव भुसालले गरिरहनु भएको क्लबले जनाएको छ ।