Logo

माओवादी केन्द्र (क्रान्तिकारी) र माओवादी केन्द्र बीच कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल, नेता महरा र गुरुङ भने-‘एकताको विकल्प छैन’

Samachar Rekhanews ६ मंसिर २०७८, सोमबार २१:५३ मा प्रकाशित

काठमाण्डौं । नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) बिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले (क्रान्तिकारी) ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) सँग समेत छलफल भएको जनाएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलको विषयवस्तुबारे आफ्नो फेसबुक पेज मार्फत नोट प्रकाशन गर्दै त्यस्तो जनाएको हो ।

माओवादी केन्द्र (क्रान्तिकारी) ले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छलफल चलाउँदै आएको छ । त्यसैक्रममा आज उक्त छलफल भएको बुझिएको छ ।

उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) का साथै केन्द्रीय सदस्य तथा उक्त पार्टी निकटको प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायत र युवा, विद्यार्थी गरी पाँच जनाको सहभागिता रहेको थियो भने माओवादी केन्द्रबाट उक्त पार्टीका प्रमुख सचेतक देव गुरुङ र पूर्वसभामुख तथा प्रवक्ता कृष्णबहादुर महरा सहभागि थिए । छोटो छलफलको क्रममा नेताहरुबिच छलफललाई निरन्तरता दिने सल्लाह भएको छ ।

भेटको क्रममा माओवादी केन्द्रका सचेतक गुरुङले अहिले माओवादी आन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्नका लागि सबै विभाजित माओवादी शक्ति र कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने समय आएको बताए ।

नेता गुरुङले माओवादी केन्द्र (क्रान्तिकारी) चलाएको वहसको विषय अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको औल्याउँदै देशभक्त, राष्ट्रवादी, परिवर्तनकारी शक्तिहरु मिल्नुपर्ने वर्तमान अवस्थामा कम्युनिष्ट शक्तिहरु नमिल्नुको विकल्प नभएको बताए ।

उनले सबै कम्युनिष्ट शक्तिहरुलाई एकताको प्रकृयामा जुट्नका लागि आह्वान समेत गरे । उक्त छलफलको क्रममा अचानक पुगेका माओवादी केन्द्रका प्रवक्ता महराले पनि माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलमा उठाएका कुराहरु अत्यन्त महत्वपूर्ण रहेको भन्दै त्यसले बलियो कम्युनिष्ट पार्टी निमार्णमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

नेता महराले बलियो कम्युनिष्ट पार्टी निर्माणबाट मात्र जनताका मुद्दाहरु पुरा गर्न सकिने भएकाले कम्युनिष्ट एकताको विषयमा सबै गम्भिर बन्नुपर्ने धारणा राखेका थिए । उनले एकता प्रकृयामा मिल्ने, नमिल्ने सबै कुरामा छलफल गरेर निष्कर्ष निकाल्न सकिने भन्दै सबैलाई एकतामा जुट्न आह्वान समेत गरे ।

त्यसैक्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले जनयुद्धको समिक्षा सहित क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा सबै माओवादी कम्युनिष्ट पार्टीहरु जुट्नुपर्ने बताए ।

महासचिव लोकेशले एकताको आधार वर्गियहित, परिवर्तनका मुद्दा र वर्तमान दलाल पूजिवादी संसदीय व्यवस्थाको खारेजीको कार्यक्रम तथा दिर्घकालिन लक्ष्य प्रतिका लागि इमान्दारीता हुनुपर्नेमा जोड दिए ।

महासचिव लोकेशले मालेमावादी सिद्धान्तका आधारमा सबै पार्टीहरुले आ–आफ्ना कमि कमजोरीहरु सच्याउँदै पुनः यो देशमा जनताको न्याय, मुक्ति र परिवर्तनको सपना साकार पार्ने जनप्रिय माओवादी पार्टी निर्माणमा जुट्नुको विकल्प आफुहरुले नदेखेको बताए ।

उनले माओवादी विभाजनले पश्चगामी शक्तिहरु हावि भएको र त्यसबाट प्राप्त राजनीतिक उपलब्धीहरु गुम्ने खतरा भएकाले जुट्नुको विकल्प छैन भन्दै कमरेड प्रचण्ड, मोहनबैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगाएतका सबै शिर्ष नेताहरुलाई इमान्दारपूर्वक त्यसको पहल गर्न आह्वान समेत गरे ।

भेटवार्ताको क्रममा दुबै पार्टीका नेताहरुले पुनः उठेका विषयहरुमा अर्को चरण अझ गम्भिरतापूर्वक छलफल गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी केन्द्रका नेताहरुले अध्यक्ष प्रचण्डसँग पनि छिट्टै भेटवार्ता गरेर महान एकता अभियानलाई गति दिनसकिने भन्दै सुझाव पेश गरेका थिए ।

कम्युनिष्ट एकताको वहसकै सन्दर्भमा हिजो पनि माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव कमरेड लोकेश र माओवादी केन्द्रका स्थायी समिति सदस्य कमरेड बलदेव लगाएतसँग पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा गम्भिर छलफल भएको थियो ।

माओवादी केन्द्र (क्रान्तिकारी) ले सत्ताँपक्षय तथा क्रान्तिकारी कम्युनिष्ट, सबै सँग छलफल, वहस गर्ने आफ्नो नीति अनुसार अघि बढ्दै जनवाद स्थापनाको लागि निर्णायक संघर्षमा जोड दिदै आएको छ । छलफलको क्रममा धेरै परिवर्तनकारी, कम्युनिष्ट शक्ति, समूहहरुसँग छलफल गरिरहेको माओवादी केन्द्र (क्रान्तिकारी) ले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?