Logo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

Samachar Rekhanews १९ मंसिर २०७८, आईतवार १३:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापालाई करिब २ सयभन्दा बढी मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

यसबारे औपचारिक घोषणा हुन भने बाँकी छ । केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । सबैको एकैसाथ मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको स्रोतले बताएको छ ।

नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । २०७८ मंसिर १५ गते बुधवारदेखि सुरू भएको महाधिवेशनमा मंसिर १८ गते शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो ।

निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् ।

प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।

अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो ।

शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?