
नेपालगन्ज, १ असोज –
नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडा, रानी तलाऊ नजिक स्थापित रहेको बाँके जिल्लामा नै प्रख्यात महेन्द्र नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदको छनौटका लागि बोलाईएको अभिभावक भेलामा शैक्षिक योग्यताको कदर नगरी एक पटक पुनः अति नै कम पढे लिखेका व्यक्ति मेहबुब अली अन्सारीलाई अध्यक्ष पदमा सर्वसम्मति छनौट गरिएको छ ।
मंगलबार दिन महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको लागि भेला कार्यक्रम बोलाईएको थियो । सो अभिभावक भेलामा सहभागिता जनाउन जिल्ला शिक्षा कार्यालयले एक जना आप्mनो प्रतिनिधिलाई त्यहाँ पठाएको थियो । त्यस्तै सो कार्यक्रममा स्कुल पढ्ने विद्यार्थीका अभिभावक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदको लागि छनौट प्रक्रिया चल्दा करिब ७ जना अभिभावकले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुकता राखेका थिए ।
तर विद्यालयका १ जना शिक्षिका बन्दना द्विवेदीले निर्वाचनमा नजाने बरु सर्वसम्मति अध्यक्ष चयन गर्ने राय व्यक्त गर्दा जिल्ला शिक्षा कार्यालयबाट खटिएका प्रतिनिधिले कोही अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुक छ भने उम्मेदवार बन्न प्रत्येक उम्मेदवारले ५० हजार धरौटी रकम फिर्ता नहुने गरी राख्नु पर्छ, अनि मात्र उम्मेदवारी दिन सकिन्छ भन्ने कुरा राख्दा अधिकांश उम्मेदवार निर्वाचनमा नजाने मन्साय बनाएका थिए ।
यसरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदका लागि विद्यालयले एक किसिमले जुवा (सट्टा) पद्दति अपनाएको देखिन्छ । यति ठूलो रकम नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार बन्न समेत तोकिएको देखिंदैन ।
सो पछि शिक्षक बन्दना द्विवेदीको अगुवाईमा विद्यालयका सबै शिक्षक, कर्मचारी, एकताबद्ध भई नि.अध्यक्ष मेहबुब अली अन्सारीलाई नै पुनः अध्यक्ष बनाउनेतर्फ लागे, जसपछि अन्सारीलाई अर्को चोटी फेरी सर्वसम्मति अध्यक्ष पदमा चयन गरिएको छ ।
महेन्द्र माध्यमिक विद्यालयमा विगत लामो समयदेखि अनियमिततापूर्ण कार्य जारी रहेको छ । शिक्षक छनौटमा लाखौं लाखको घोटाला र विद्यालयको भवन निर्माण कार्यमा अनियमिततापूर्ण कार्य भएको चर्चा परिचर्चा आजसम्म छ ।
अहिले पुनः नि.अध्यक्ष अन्सारीलाई अध्यक्ष पदमा चयन गरिएपछि अनियमिततापूर्ण कार्य अझ बढ्ने अनुमान रहेको छ । यो सबै अनियमिततापूर्ण कार्य जिल्ला शिक्षा कार्यालय, महेन्द्र माध्यमिक विद्यालयका जिम्मेवार तहका व्यक्तिहरुको मिलेमतोमा भएको कुरा समेत प्रष्ट देखिन्छ ।
अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा करीब एसएलसी उत्तीर्ण व्यक्ति आउने अनुमान गरिएको थियो । तर जिल्ला शिक्षा कार्यालयको प्रतिनिधिको उपस्थितिमा नै शैक्षिक योग्यताको कदर नगरिएकोले यसको सर्वत्र नै आलोचना हुन शुरु भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यक्रम बाँकेको प्रमुख पदमा रामसुरेश यादव नै कार्यरत छन् । यस कारण शैक्षिक योग्यताको कदर गरी शिक्षित व्यक्तिलाई अध्यक्ष पदमा चयन गर्नु पर्ने थियो तर यसो नगरी इकाई कार्यालय बाँके प्रमुख यादवतर्फ बाँकेका शिक्षाप्रेमीहरुले औंला उठाउन मौका पाएका छन् ।