Logo

सुरक्षा भत्ता बुझन सकट

Samachar Rekhanews २७ जेष्ठ २०८१, आईतवार २१:४२ मा प्रकाशित

(नेपालगन्ज)
ठेलमठेल गर्दै लाम लागेका छन् । अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । लाइन अव्यवस्थित छ । सामाजिक दूरी पालना गरेको देखिँदैन । छाता र गम्छाले घाम छेकेका छन् । कोही झुरुप्प भएर गफ गरिरहेका छन् ।

नेपालगन्जको व्यस्त सडक सुर्खेत रोडमा देखिएको यो दृश्य ज्येष्ठ नागरिकको हो । सामाजिक सुरक्षा भत्ता लिन सोमबार बिहानैदेखि नेपालगन्जस्थित ज्योति विकास बैंकको मुख्य ढोकाबाट सडकपेटीसम्म उनीहरू लाइन लागेका थिए । सोमबार बिहान ८ बजेदेखि नै बैंकका गार्ड बस्ने मूल सटरदेखि सडकसम्मै ज्येष्ठ नागरिकको भीड थियो । न बस्ने कुर्सी थिए, न त घाम छेक्ने चौतारी नै । नखुलेका सटरमुनि पालो कुरिरहेका उनीहरू आपसमा घरपरिवारका कुरा साट्दै व्यस्त थिए ।

डुडुवा गाउँपालिका–५, कम्दीका ७२ वर्षीय लीला एरीले गत वर्ष गाउँकै बैंकबाट पैसा निकाल्न पाइन् । यस वर्षदेखि नेपालगन्जको बैंकमा पुग्नु परेकाले उनलाई हिँड्न समस्या भयो । दुई छोराछोरीसहित सात जना नाति–नातिनीकी हजुरआमा भएकी उनले भत्ताबापत आउने रकम परिवारका लागि खर्च गर्ने गरेकी छन् । ‘बूढाबूढी मान्छेलाई हिँड्न कहाँ त्यति सजिलो हुन्छ र ?,’ उनले भनिन्, ‘यहाँ त बस्ने ठाम पनि छैन, गाउँमै पैसा दिने व्यवस्था भए बूढाबूढीलाई सजिलो हुन्थ्यो ।’ बैंक १० बजे खुल्ने भए पनि उनीहरू बिहान ८ बजे नै बैंक पुगेका थिए । वडाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बैंकमा पठाइसकिएको खबर पाएपछि उनीहरू समूह बनाएर प्रतिव्यक्ति दुई सय रुपैयाँ तिरेर टेम्पो रिजर्भ गरेर बैंकसम्म आइपुगेका हुन् । निषेधाज्ञाले सवारीसाधन नचलेपछि टेम्पो चढेर आउनुपरेको उनीहरूले सुनाए ।

डुडुवा गाउँपालिका–५, डलैपुरका ६५ वर्षीय चन्द्रबहादुर सुनारले यस वर्ष मात्र तीन पटक भत्ता बुझेका छन् । नागरिकता ढिलो गरी बनेपछि उनले ढिलो भत्ता बुझ्न पाएको बताए । ‘खाता खोल्न नपाएपछि ६५ वर्षमा भत्ता बुझ्न पाइयो,’ घाम छलेर पेटीमा आराम गर्दै गरेका उनले भने, ‘त्यही पनि कहिले पाइने हो अझै पत्तो छैन ।’ कोरोना संक्रमणका कारण बाँकेमा असार ३१ गतेसम्म निषेधाज्ञा छ । यस अवधिमा भीडभाड हुने गतिविधि गर्न प्रशासनले रोक लगाएको छ । पसल–व्यवसाय ठप्प छन् । बैंकहरूलाई सामाजिक दूरी कायम गरेर खोल्न दिइएको छ । तर, बैंकले कोरोना संक्रमण फैलन नदिन न्यूनतम मापदण्डसमेत अपनाएको पाइँदैन ।

डुडुवा गाउँपालिका–५, कम्दीका ७० वर्षीय भगना थारूले पनि सामाजिक सुरक्षा भत्ता बुझ्न थालेको यो तेस्रो पटक हो । ‘यसो अम्मल खाने दुई–चार पैसा त हात आउँछ,’ निधारभरिको पसिना पुछ्दै उनले भने, ‘अहिलेसम्म पैसा दिने छाँटकाँट देखिँदैन । यस पटक त नेपालगन्जकै गर्मी खाएर जाने भइयो ।’

सुरक्षा भत्ता बुझ्ने समयमा अधिकांश बैंकबाहिर यस्तै भीड लाग्ने गरेको छ । तर, भीड नियन्त्रण र व्यवस्थापन नहुँदा ज्येष्ठ नागरिकले सास्ती भोग्नुपरेको हो । ‘बूढाबूढीलाई बस्ने ठाम त दिनु नि, गर्मीले बेहाल भइयो,’ जानकी गाउँपालिका–२ की तुलसी सुनारले भनिन्, ‘सडकमा घाम खाएर बसेका छौं ।’

सम्पूर्ण बैंकलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । ‘सेवा लिने सेवाग्राहीलाई बस्ने व्यवस्थापन गर्नु बैंकको दायित्व हो । खेलबाड गर्न पाइन्न,’ उनले भने, ‘जनस्वास्थ्यको मापदण्ड अपनाएर व्यवस्थापनका लागि पहल गर्छौं ।’


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?