समीर अली बेहना,
बाँके, ३१ साउन ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा मरकजे अहले सुन्नत दरगाहे आला हजरतद्वारा स्थापना गरिएको जामिया मञ्जरे ईस्लाम बरेली शरीफद्वारा सुभकामना सहितको ध्वजा फहराउने कार्यक्रम सम्पन्न गरिएको छ । जामिया मञ्जरे ईस्लाम एउटा शैक्षिक संस्था रहेकोले यस विद्यालयमा नेपालबाट समेत विद्यार्थीहरु अध्ययन गर्न विद्यालयमा भर्ना लिने गरेको छन् । मञ्जरे ईस्लाम बरेली शरीफद्वारा आयोजना गरिएको स्वतन्त्रता दिवसको कार्यक्रममा नेपालको अछुतो र अनौठो योगदानलाई बिर्सन नसक्ने बताइएको छ ।
आइतबार गरिएको स्वतन्त्रता दिवस कार्यक्रममा दरगाहे आला हजरतका प्रवक्ता मुफ्ती सलीम नुरीले भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालले भारतलाई स्वतन्त्र बनाउन ठुलो भुमिका खेलेको जिकिर गर्नु भयो । उहाँ भन्नु भयो , नेपाल मध्य एसियाको एउटा त्यस्तो देश हो जसलाई ब्रीटिस सरकारले कहिले गुलाम बनाउन सकेन । भारतमा ब्रीटिस शासनको अवधी भारतीय नागरिकहरु माथी भैरहेको अत्याचारको बेला भारतीय स्वतन्त्रता सेनानीहरुलाई नेपालले जोगाएको थियो । अत्याचारको त्यो समय अवधिमा छिमेकी राष्ट्र नेपालले धेरै सहयोग गर्दै आएको थियो ।
त्यस्तो दु:खद परिस्थितिमा समेत भारतीय नागरिकहरुलाई विभिन्न सेवा सुबिधाहरु नेपालले उपलब्ध गरी मानवता देखाउँदै एउटा असल छिमेकी भएको अनुभुती गराएको थियो । नेपाली इतिहासकारहरुले विभिन्न किताबहरुमा उल्लेख गरेको कुरा समेत उहाँले आफ्नो मन्तव्य र प्रेस बिज्ञाप्तीमा जिकिर गर्नु भएको छ । जामिया मञ्जरे ईस्लामद्वारा जारी गरिएको प्रेस विज्ञाप्तीमा नेपालले भारतलाई स्वतन्त्र बनाउन सेना सहितको सहयोग गरेको उल्लेख गरिएको छ । नुरीको अनुसार भारतमा जारी स्वतन्त्रता संघर्षको त्यो समय अवधिमा भारतीय नागरिकहरुले आफूलाई सुरक्षीत राख्न नेपालमा शरण लिएका थिए । भारत स्वतन्त्र भएपछि नागरिकहरु स्वदेश फिर्ता भएपनि नेपालको त्यो सहयोग भारतीय नागरिकहरुले कहिले बिर्सन नसक्ने उहाँले बताउनु भयो ।
नेपाल र भारतको राजनीतिक र धार्मिक दुबै सम्बन्ध असल रहेकोले दुबै देशका नागरिकहरु बीच संधै भाईचारा कायम रहयो । १५ अगस्टको दिन भारतमा मनाइने स्वतन्त्रता दिवसको अवसरमा भारतीय र नेपाली नागरिक दुबैलाई जामिया मञ्जरे ईस्लामद्वारा शुभकामना व्यक्त गरिएको छ । यो दिन भारतले ब्रीटिस शासन अन्त्य गरेको खुशीमा मनाउने गरेको छ । ब्यापार गर्न प्रवेश गरेको ब्रीटिसहरुले २ सय वर्षसम्म भारतमा शासन गरेपछि । मौलाना बिस्मिल अजिमाबादीले दिएको मुल नारा ` सर्फरोसी कि तमन्ना अब हमारे दिल मे है , देख्न है जोर कित्न बाजु-ए कातिल मे है´ लाई आधार बनाइ महात्मा गाँधी, सुभाष चन्द्र बोश, मौलाना फज्ले हक खैराबादी, नेहरु , मौलाना किफायत अली मुरादाबादी, मौलाना रजा अली खाँ बरैली लगायत अन्य सेनानीहरुले स्वतन्त्रताको आवाज उठाएका थिए । विश्व जगतमा महात्मा गाँधीले स्वतन्त्रताको अभियान चलाएको भन्ने कुरा जागजाहेर भएपनि इतिहासकारहरुले महात्मा गाँधी भन्दा पहिला पनि आवाज उठाउने सेनानीहरुको नाम उल्लेख गरेका छन् ।