Logo

गणतन्त्र दिवस हर्षाेल्लासका साथ मनाइँदै

Samachar Rekhanews १५ जेष्ठ २०८०, सोमबार १५:१६ मा प्रकाशित

१५ जेठ, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज गणतन्त्र दिवस देशभर हर्षाेल्लासका साथ मनाइँदैछ ।
विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२।०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने गरिन्छ ।
१० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । यही ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउने गरेको छ ।
मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएकाले गणतन्त्रका १५ वर्षको समीक्षासहित यस पटक तीन दिनसम्म विविध कार्यक्रम गरिने सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् । गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समारोह समिति २०८० गठन गरिएको छ । उक्त समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जेठ १४ गते सञ्चार माध्यममार्फत गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामुलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकासन÷प्रसारण, सोही दिन सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदान कार्यक्रम गर्ने, साथै सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाई र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिएकी छिन् । जेठ १४ गते नै विभिन्न आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरूलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम, जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकुद सामग्री वितरण लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।
यस्तै आज जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने बताइएको छ । सबै सरकारी कार्यालय, महत्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा आम जनताका घरघरमा साँझ दीपावली गर्न आह्वान गरिएको छ । गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पठाइएको छ ।
यस्तै जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ ।
नेपाल सरकारले सबै प्रदेशमा मुख्य मन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको छ ।
नेपाल सरकारले १५ वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने भएकोछ । जेठ १६ गते साँझ टुडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?