
नेपालगन्ज : भारत उत्तर प्रदेशको श्रावस्ती जिल्लास्थित एकौनामा शनिबार बेलुका भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोक निवासी ६ जनाको मृत्यु भएको छ । मृतकहरु परिवार र आफन्तीहरु रहेको बताइएको छ ।
त्रिभुवन चोकका एसकुमार वाच सेन्टरका सञ्चालक सन्तोषकुमार वैश्यको परिवारका सदस्यहरु ६ जनाको मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार बलरामपुरबाट नेपालगन्जतर्फ फर्किरहेका बेला शनिबार बेलुका उनीहरु सवार युपी ४७ डब्लु १२१७ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर २ जना पुरुष, २ जना महिला र २ जना बच्चाको मृत्यु भएको हो । मृतक मध्ये त्रिभुवन चोक निवासी २५ वर्षीय निलांश गुप्ता, १८ वर्षीय निती गुप्ता, २८ वर्षीय बैभव गुप्ताको सनाखत भएपनि दुई बच्चा र एक महिलाको सनाखत हुन सकेको छैन ।
सडकमा एक्कासी चौपाया आएपछि जोगाउन खोज्दा छेउमा रहेको रुखमा ठोक्किएको बताइएको छ । यद्यपी, भारतीय प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनापछि नेपालगन्जको त्रिभुवन चोक शोकमा डुबेको छ ।
भारत श्रावस्तीमा दुर्घटना हुँदा नेपालगन्ज त्रिभुवन चोक एकै परिवार का ६ को मृत्यु