Logo

प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने

Samachar Rekhanews १९ श्रावण २०७९, बिहीबार १६:२५ मा प्रकाशित

१९ श्रावण, काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।
मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।
यसबीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको बताएका छन् । उनले कानुनबमोजिम १२० दिनको निर्वाचन अवधि माग गरिएको भए पनि आयोगको परामर्शमै सरकारले निर्वाचनको मिति तोकेको भन्दै चुनावका लागि आयोग सबै ढंगले तयार रहेको बताए ।
‘सरकारले मंसिर ४ का लागि चुनावको मिति तोकेको छ । यो आकस्मिक होइन, अपेक्षित हो । आयोगको परामर्शमै भएको निर्णय हो,’ थपलियाले इकान्तिपुरसँग भने, ‘हामी मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्न सबै ढंगले तयार छौँ ।’
उनले आयोगले पहिल्यैदेखि आन्तरिक रुपमा तयारीलाई गति दिएको भन्दै अब मिति घोषणापछि त्यसलाई औपचारिकता दिइने बताए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको छ ।
सरकारले तोकेको निर्वाचनको मिति आउन अब १०७ दिन बाँकी छ । जबकी कानुनले नै निर्वाचनको मिति तोक्दा मतदान हुने दिनअघि १२० दिन निर्वाचन अवधि हुनुपर्ने भनेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले १०७ दिनको मात्रै अवधि हुँदा समेत आयोग निर्वाचन गराउन सक्षम र पूर्वतयार रहेको बताएका छन् ।
उनले त्यसबारे आयोगले बिहीबारै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । निर्वाचन आयोग ऐन, २०७३ को दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनी परिभाषित गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?