Logo

बाल उत्सव बन्दैं दोस्रो नेपालगञ्ज किड्स फेस्टिवल

Samachar Rekhanews ४ मंसिर २०८०, सोमबार २२:०४ मा प्रकाशित

४ मंसिर, नेपालगञ्ज । विश्व समुदायलाई चुनौति दिएको कोभिड समयमा मानिसहरु मानसिक रुपमा कमजोर बनिरहेका थिए । कोभिडले सृजना गरेको त्यो संकटपूर्ण समयमा मनोवैज्ञानिक रुपमा बालबालिका पनि प्रभावित भए । बालबालिकामा थुप्रै नकारात्मक असर परिरहेको थियो । त्यही बेला नेपालगञ्जका शिक्षक एवम् साहित्यकार भोजराज शर्मा ‘नादिर’ले मानिसमा देखिएका नकारात्मक मानसिक समस्यालाई कम गर्ने उद्देश्यले एउटा संस्थाको जन्म दिए, ‘लिभवेल काउन्सिलिङ’ । शिक्षक र साहित्यकार भनेर चिनिएका नादिरले त्यतिबेला आफुसँग भएको अनुभव र हासिल गरेको शिक्षालाई राम्ररी सदुपयोग गरे मनोपरामर्शदाताको रुपमा । त्यसपछि उनको अर्को परिचय थपियो मनोपरामर्शदाता ।
कोभिडको समयमा उनले खजुरा गाउँपालिका, नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा निःशुल्क रुपमा मनोपरामर्शदाताको रुपमा काम गरे । कोभिडको संकटपूर्ण समयमा जन्म भएको त्यही संस्था लिभवेलले गत वर्षदेखि बालबालिकाको प्रतिभा देखाउने मंचका रुपमा दुई वटा इभेन्टको सुरुआत गरेको छ । ती हुन, नेपालगञ्ज किड्स फेस्टिवल र नेपालगञ्ज लिटिल स्टार । किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । लिटिल स्टारमा व्यक्तित्व विकासलाई जोड दिइएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगञ्ज किड्स फेस्टिवलको तयारी अहिले तीव्र गतिमा भैरहेको छ । यस वर्ष फेस्टिवलको दोस्रो संस्करण मंसिर १६ गते हुँदैछ । फेस्टिवलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएर तयारी भैरहेको बताउँछन् लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ । गायन, नृत्य, चित्रकला र वक्तृता प्रतियोगिता फेस्टिवलका मूख्य आकर्षण हुन । त्यस बाहेक फेस्टिवलमा सहभागी भएका बालबालिकाले आफुलाई आउने जुनसुकै कुरा पनि प्रदर्शन गर्न पाउनेछन् कार्यक्रम स्थलमा । हरेक इभेन्ट्समा प्रि–स्कुल देखि लिएर कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न तीन समुहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी छ ।
नृत्यमा एकल र सामूहिक विधा छन् । चित्रकलामा ‘सफा, समृद्ध र रमाईलो गाउँ’ शीर्षकमा ६ देखि १२ कक्षाका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । वक्तृत्वकला प्रतियोगिताको लागि यस वर्षको शीर्षक ‘समृद्ध नेपालगञ्ज, चुनौति र सम्भावनाहरु’ छ ।
वक्तृताकला प्रतियोगिताका प्रतिस्पर्धीलाई कुशलवक्ता, व्यवसायी एवम् नेपाल सरकारका अधिकृत सन्तोष खड्काले प्रशिक्षण दिइरहेका छन् । कात्तिक १८ गते भएको पहिलो चरणको अडिसनमा २ सय २७ जनाले भाग लिएका थिए । अन्तिम चरणको अडिसन मंसिर ५ गते हुँदैछ ।
बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगञ्ज किड्स फेस्टिवलमा गत वर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजना गर्ने तयारी गरेको नादिर बताउँछन् । उनी भन्छन्, ‘परम्परागत रुपमा भन्दा हामी केही फरक गर्ने प्रयास गरिरहेका छौं । सबै बालबालिकाहरुलाई एउटा रमाईलो मेलाको रुपमा लाग्ने गरी उनीहरुको सृजनशीलतातर्फ आकर्षित गर्ने हो । आफ्नो देशको माटोको माया चिनाउने प्रयास हो । यसमा करिब १ हजार बालबालिकालाई सहभागी गराउने लक्ष्य छ ।’
फेस्टिवलमा अभिभावकहरुले आफना बालबालिकालाई नृत्य, गायन, चित्रकला, वक्तृत्वत मध्ये कुनै एक विधा पनि सहभागी गराउने सक्नेछन् । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, सांस्कृतिक पोषाक, फोटो सेसन, पुस्तक, चित्रकला प्रदर्शनीबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाउनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?