२३ माघ, नेपालगन्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचना पाएर गएको इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले बैजनाथ गाउँपालिका–७ पेडारीबाट ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–७ का ४२ वर्षीय विजय चौधरी, सोही स्थानकै ४९ वर्षीय भारती थारु र २९ वर्षीय रामेश्वर थारुलाई ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको हो ।
ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएर विजय थारुको घरमा छापा मारेर उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले छापा मार्ने क्रममा उनीहरु तीनै जनाले प्लास्टिक स–साना पोका बनाएर ब्राउन सुगर राख्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी गराएका छन् ।